काठमाडौंका २० हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिने
काठमाडौं । काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पताल बीच काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बिहीबार आयोजित कार्यक्रममा महानगर स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार महानगरले अस्पताललाई ३० लाख रुपैयाँ उपलब्ध गराउनेछ । उक्त रकममार्फत विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा परीक्षण गरिनेछ ।
यस्तै, परीक्षणका क्रममा आवश्यक देखिएका विद्यार्थीलाई औषधि तथा चस्मासमेत निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।