इरान–इजरायल–अमेरिका तनाव: ६ दिनमा १,०९७ जनाको मृत्यु, बालबालिकासहित हजारौं घाइते
अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा तीव्र संघर्षका कारण कम्तीमा १,०९७ सर्वसाधारणको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको छ। एचआरएएनाका अनुसार मृतकमध्ये १८१ जना १० वर्षमुनिका बालबालिका रहेका छन्।
घाइते हुने नागरिकको संख्या ५,४०२ पुगेको छ, जसमा सयभन्दा बढी बालबालिका पनि रहेका एजेन्सीले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा १०४ वटा आक्रमण भएका छन्। यी आक्रमण मुख्यतया सैन्य अखडा, चिकित्सा केन्द्र र आवासीय क्षेत्रहरूमा लक्षित थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले आक्रमणको तयारी गरेको सूचना पाएपछि इजरायलसँग मिलेर प्रतिकारको आदेश दिएको बताएका छन्। इरानले यसका जवाफी रूपमा इजरायल र अमेरिकी सैन्य अखडामा हमला जारी राखेको छ। हालै दुबईस्थित अमेरिकी दूतावास र फुजैराह बन्दरगाहमा पनि आक्रमण भएका छन्।
इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने घोषणा गरेको छ, जसले विश्वव्यापी तेल आपूर्तिमा सङ्कट उत्पन्न हुने खतरा बढाएको छ।
मध्यपूर्वको यो तनावको प्रभाव नेपालमा समेत देखिएको छ। करिब १८ लाख नेपालीहरू त्यहाँ कार्यरत, अध्ययनरत वा बसोबास गर्ने भएकाले गृहदेशका परिवारहरूमा चिन्ता बढेको छ।