फिलिपिन्समा हेलिकप्टर दुर्घटना, २ जनाको मृत्यु
फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली र एक जना फिलिपिनो नागरिकको मृत्यु भएको छ।
दुर्घटनामा हेलिकप्टरमा दुई मलेसियालीसहित ५ जना यात्रु रहेका थिए। रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पाङ्गाले दुई जनाको मृत्यु पुष्टि गरेका छन्।
पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको र पाइलटको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो।
प्रहरीका अनुसार हेलिकप्टरको इन्जिनमा समस्या देखिएपछि आपतकालीन अवतरणको प्रयास भइरहेकै क्रममा दुर्घटना भएको थियो। फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले घटनाको गम्भीर अनुसन्धान सुरु गरेको छ।