न्यायपालिकाको सुदृढीकरणका लागि समन्वय आवश्यक: सपना प्रधान मल्ल
काठमाडौँ — सपना प्रधान मल्ल ले न्यायपालिकाको सुदृढीकरणका लागि विभिन्न सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताएकी छन्।
आजदेखि सुरु भएको नेपाल बार एसोसिएसन अन्तर्गत कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्याय प्रणालीलाई बलियो बनाउन बार, बार एकाइ, महिला कानुन व्यवसायी तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन्।
उनले न्याय क्षेत्रमा महिलाको सहभागिता अझै पछाडि रहेको बताउँदै महिला सशक्तीकरणमा जोड दिइन्। साथै, महिलामाथि हुने मानसिक तथा शारीरिक हिंसाको अन्त्यका लागि कडा कानुन कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।
मल्लले महिलालाई कानुनबारे पर्याप्त जानकारी नहुँदा न्याय प्राप्तिमा ढिलाइ हुने गरेको उल्लेख गर्दै कानुनी चेतना अभिवृद्धिका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा न्याय परिषद्का सदस्य, विभिन्न जिल्ला अदालतका न्यायाधीश, विशेष अदालत बारका प्रतिनिधि तथा महिला कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले हिंसा अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।
सम्मेलनमा उत्कृष्ट महिला कानुन व्यवसायीलाई सम्मान पनि गरिएको छ।
शनिबारसम्म सञ्चालन हुने उक्त सम्मेलनमा ७७ जिल्लाबाट करिब ७०० प्रतिनिधि सहभागी छन्। आज विभिन्न प्रतिवेदनमाथि छलफल गरिएको छ भने भोलि घोषणापत्र सार्वजनिक गरिने सभापति एवं अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिइन्।