एमालेले आकस्मिक सचिवालय बैठक बोलायो, ओली–लेखक पक्राउपछि सडक प्रदर्शन तयारी
काठमाडौँ — नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली लाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान पक्राउ गरेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ। सचिव महेश बस्नेतका अनुसार बैठक बिहान ८ः३० बजे सुरु हुने र पार्टीले सडक प्रदर्शन पनि सुरु गर्ने तयारीमा छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनको सिफारिसअनुसार प्रहरीले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर लगेको छ।
ओलीको निवासमा एमाले कार्यकर्ताले प्रहरी प्रवेश रोक्न प्रयास गरेका थिए। केहीबेर धकेलाधकेल र लाठीचार्जसमेत भएको छ। सचिवालय बैठकपछि पार्टीले प्रदर्शन र अन्य कार्यक्रमबारे विस्तृत जानकारी दिने जनाएको छ।