मतदाता शिक्षा कमजोर हुँदा बदर मत बढेको नागरिक समाजको निष्कर्ष
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको निष्कर्ष नागरिक समाजले निकालेको छ।
शुक्रबार काठमाडौंमा निर्वाचन पर्यवेक्षणसम्बन्धी निष्कर्ष सार्वजनिक गर्दै नागरिक समाजले मतदाता शिक्षा सामग्रीको वितरण र पहुँचमा क्षेत्रगत असमानता देखिएको जनाएको हो।
गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुन कुमार भट्टराईका अनुसार मतदाता नामावलीमा त्रुटि रहेको र मतदानका दिनसम्म पनि मतदान केन्द्रको ३०० मिटर क्षेत्रभित्र प्रचार सामग्री नहटाइएको पाइएको छ।
उनले निर्वाचन खर्चको पारदर्शिता र वैध स्रोतबारे अध्ययन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्। साथै निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय सुदृढ गर्न र बढ्दो खर्च नियन्त्रण गर्न पनि आग्रह गरिएको छ।
नागरिक समाजले निर्वाचनसम्बन्धी कानुन संशोधन गरी अन्तरजिल्ला तथा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिएको छ। यद्यपि विभिन्न चुनौतीका बाबजुद सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर आफ्नो दायित्व जिम्मेवारीपूर्वक पूरा गरेको निष्कर्ष पनि सार्वजनिक गरिएको छ।