ओली र लेखक पक्राउ प्रकरणमा देउवा समूहको कडा आपत्ति, राजनीतिक प्रतिवाद गर्ने घोषणा
नेपाली काँग्रेस देउवा समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय नेताहरूको आज बसेको बैठकले एमाले अध्यक्ष ओली र काँग्रेस नेता लेखकमाथि सरकारले राजनीतिक प्रतिशोध लिएको निष्कर्ष निकालेको छ ।
पार्टीका कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न नेता–कार्यकर्तालाई तयार रहन अपिल गरिएको छ । लेखिएको छ, ‘सरकार गठनलगत्तै दुराशयपूर्ण तवरबाट राजनीतिक प्रतिशोध लिइयो ।’
कानुनी प्रक्रिया पूरा नगरी प्रतिवेदन कार्यान्वयन गर्ने नाममा भएको तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री पक्राउलाई कानुनी राज्यको सिद्धान्तविरुद्धको कदम भनिएको छ । प्रतिवेदन भदौ २४ गतेको विध्वंशबारे मौन रहेको देउवा समूहको निश्कर्ष छ ।
नेपाली काँग्रेस संस्थापन पक्षले वर्तमान राजनीतिक परिस्थितिमा आफूलाई तटस्थ राख्दै नेता लेखक पक्राउ परेको अवस्थामा पनि कुनै आन्दोलनका कार्यक्रम नल्याउने बताएको छ । काँग्रेस विज्ञप्तिमा भोलिपल्ट कसले विध्वंस मच्चाएको थियो भन्नेबारे जनतालाई सुसूचित गराउनुपर्ने माग छ ।