युएईमा युक्रेनी ड्रोन प्रणाली लक्षित गर्दै इरानको आक्रमण दाबी
इरानले संयुक्त अरब इमिरेट्स (युएई)मा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमाथि लक्षित आक्रमण गरेको दाबी गरेको छ। इरानी सेनाको केन्द्रीय ‘अपरेशनल कमान्ड’ खातम अल–अनबियाले सरकारी टेलिभिजनमार्फत जारी गरेको विज्ञप्तिमा दुबईस्थित उक्त प्रणाली निशानामा परेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार उक्त प्रणाली अमेरिकी कमान्डर तथा सैनिकलाई सहयोग गर्न प्रयोग भइरहेको आरोप इरानले लगाएको छ।
यसैबीच, भोलोदिमिर जेलेन्स्की ले हालै युएईको भ्रमणका क्रममा दुई देशबीच रक्षा सहकार्य बढाउने सहमति भएको बताएका थिए। त्यस्तै, साउदी अरब भ्रमणका क्रममा युक्रेन र साउदीबीच हवाई प्रतिरक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको पनि जनाइएको छ।
जेलेन्स्कीले यस महिनाको सुरुवातमा युएई, कतार, साउदी अरब र कुवेतलाई सहयोग गर्न युक्रेनी सैन्य विशेषज्ञहरू मध्यपूर्व पठाउने योजना सार्वजनिक गरेका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको क्षेत्रीय तनावपछि इरानले खाडी क्षेत्रमा इजरायल र अमेरिकी चासोविरुद्ध आक्रमण तीव्र बनाएको बताइएको छ।
इरानले खाडी राष्ट्रहरूले आफ्नो भूमिबाट अमेरिकी सेनालाई आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएको छ। तर युएईसहितका खाडी मुलुकहरूले उक्त आरोप अस्वीकार गर्दै आफ्नो भूमि वा आकाशमार्ग इरानविरुद्ध प्रयोग गर्न नदिने अडान दोहोर्याएका छन्।