अस्पताल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, गाडी नियन्त्रणमा
खोटाङ — हलेसी तुवाचुङ नगरपालिका ले निर्माणाधीन आधारभूत अस्पताल अलपत्र पार्ने ठेकेदारमाथि कडा कदम चाल्दै उनको सवारीसाधन नियन्त्रणमा लिएको छ।
नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलासुस्ती गर्ने नमूना-हिमालयन जेभी विराटनगर का ठेकेदार रमेश बस्नेत को बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिइएको हो।
नगरप्रमुख विमला राई का अनुसार आवश्यक निर्माण सामग्री र जनशक्ति व्यवस्थापन गरी काम सुरु नभएसम्म गाडी, चाबी र दर्ता प्रमाणपत्र नियन्त्रणमै राखिनेछ। “२०८० सालमै सम्पन्न हुनुपर्ने अस्पताल भवन हालसम्म पहिलो चरणमै सीमित छ,” उनले भनिन्, “पटक–पटक सचेत गराउँदा पनि काम अघि नबढेपछि यस्तो कदम चाल्नुपरेको हो।”
नगरपालिकाले चैत ८ गते चालकलाई बोलाएर गाडी नियन्त्रणमा लिएको थियो र यसबारे जिल्ला प्रशासन कार्यालय लाई जानकारी दिइसकेको छ।
नगर प्रवक्ता कमल गिरी का अनुसार ठेकेदारसँग लिखित प्रतिबद्धता गराइएको छ। जसअनुसार चैत १२ गतेदेखि काम सुरु गरी ४५ दिनभित्र बेसमेन्ट स्ल्याब, ६० दिनभित्र पहिलो तला र अर्को ६० दिनभित्र दोस्रो तला ढलान सम्पन्न गर्नुपर्नेछ। तोकिएको समयसीमामा काम नगरे कानुनी कारबाही भोग्नुपर्ने सर्त राखिएको छ।
उक्त निर्माण कम्पनीले २०७८ साउन ८ गते सम्झौता गरी २०८० साउन ८ भित्र काम सम्पन्न गर्ने जिम्मा लिएको थियो। तर दुई वर्ष नाघ्दा पनि भवन जगभन्दा माथि उठ्न सकेको छैन। कम्पनीले यसबीच ४ करोड ११ लाख रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेको छ।
ठेकेदार पक्षले भने डिजाइन स्वीकृतिमा ढिलाइ भएको कारण काम प्रभावित भएको दाबी गर्दै आएको छ।
नेपाल सरकारको नीति अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु गरिए पनि धेरै स्थानमा काम सुस्त गतिमा अघि बढेको पाइएको छ।