स्वास्थ्य बीमा दाबी प्रणालीमा नयाँ स्पष्टता: शिशु उपचार र ओपिडी–आकस्मिक सेवाबारे ४ बुँदे निर्देशन जारी
स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमा अन्तर्गत दाबी व्यवस्थापन प्रणालीलाई थप स्पष्ट, वैज्ञानिक र प्रभावकारी बनाउन स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ। शिशु उपचार, अस्पताल भर्ना तथा ओपिडी–आकस्मिक सेवासम्बन्धी दाबी प्रक्रियामा देखिएको अन्योल हटाउने उद्देश्यले बोर्डले ४ बुँदे स्पष्टीकरण सार्वजनिक गरेको हो।
बोर्डका अनुसार बीमा अवधि कायम रहेकै अवस्थामा जन्मिएका शिशुको उपचारका लागि अब छुट्टै बीमा दर्ता अनिवार्य नहुने भएको छ। यस्तो अवस्थामा शिशुको उपचार आमाकै ‘क्लेम कोड’ प्रयोग गरी गर्न सकिने व्यवस्था गरिएको छ। तर, आमा र शिशु दुवैको आवश्यक विवरण तथा कागजातहरू ‘आई एम आई एस’ (IMIS) प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गरी स्पष्ट उल्लेख गर्नुपर्नेछ।
त्यसैगरी, अस्पताल भर्नासम्बन्धी दाबी प्रक्रियालाई पनि व्यवस्थित गरिएको छ। रिफरल, आकस्मिक वा ओपिडी सेवा हुँदै बिरामी अस्पताल भर्ना भएको अवस्थामा प्रणालीको ‘भिजिट टाइप’ मा ‘अन्य’ छनोट गरी अनिवार्य रूपमा ‘IPD’ उल्लेख गर्न निर्देशन दिइएको छ।
ओपिडी सेवाअन्तर्गत एकै दिन विभिन्न सेवा लिँदा छुट्टाछुट्टै क्लेम कोड नआउने भएकाले एउटै क्लेम कोड प्रयोग गरी ‘केयर टाइप’ मा ओपिडी राखेर दाबी गर्नुपर्ने बोर्डले जनाएको छ। तर, कुनै बिरामीले एकै दिन ओपिडी र आकस्मिक दुवै सेवा लिनुपरेमा भने फरक–फरक क्लेम कोडमार्फत दाबी गर्न सकिने व्यवस्था गरिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. Pawan Kumar Shah द्वारा जारी विज्ञप्तिमा उक्त व्यवस्था उल्लेख गरिएको छ।
निर्देशन प्रभावकारी कार्यान्वयनका लागि सबै प्रदेश तथा जिल्ला सम्पर्क कार्यालयहरूलाई आवश्यक समन्वय गर्न पनि भनिएको छ। नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमा दाबी प्रक्रियामा देखिँदै आएको प्राविधिक अन्योल घट्ने र सेवा प्रवाह थप सहज हुने अपेक्षा बोर्डले जनाएको छ।