जेनजी आन्दोलनमा घुसपैठ भएको रमेश लेखकको दाबी, जाँचबुझ आयोगसमक्ष बयान सार्वजनिक
काठमाडौं — गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घुसपैठ भएको तत्कालीन गृहमन्त्री रमेश लेखकले दाबी गरेका छन्। जाँचबुझ आयोगसँगको बयानमा उनले आन्दोलन जेनजी अगुवाहरूको अभिव्यक्तिबाट प्रभावित हुँदै बाह्य घुसपैठ भएको संकेत देखिएको बताएका हुन्।
उनका अनुसार राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणामका रूपमा मात्र सीमित गर्न नसकिने तर्क पेश गरिएको छ। आन्दोलनका क्रममा भएका घटनाहरू योजनाबद्ध रूपमा समेत हुन सक्ने आशंका उनले व्यक्त गरेका छन्।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। यसैबीच जनआस्था साप्ताहिकको अनलाइन संस्करणले प्रतिवेदनका विषयवस्तुहरू श्रृंखलाबद्ध रूपमा सार्वजनिक गरिरहेको छ।
अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीअनुसार लेखकले आन्दोलन सुरु हुनुअघि नै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट असन्तुष्टि र आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत प्राप्त भएको उल्लेख गरेका छन्।