जेन–जी आन्दोलन प्रतिवेदन सार्वजनिक, नख्खु कारागारबाट कैदी भागेको विवरण खुलासा
काठमाडौं — भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको ८८९ पृष्ठ लामो प्रतिवेदनमा आन्दोलनका क्रममा देखिएका घटनाक्रम, सुरक्षास्थिति र विभिन्न व्यक्ति तथा सरकारी अधिकारीहरूको बयान समेटिएको छ। उक्त प्रतिवेदन जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको हो, जसलाई खबरहबले पनि प्राप्त गरेको बताइएको छ।
प्रतिवेदनमा ललितपुरस्थित नख्खु कारागारका जेलर सत्यराम जोशीको बयान पनि समावेश गरिएको छ। जोशीले आयोगसमक्ष दिएको बयानमा सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछाने भदौ २४ गते कारागार तोडेर भागेको दाबी गरेका छन्।
उनका अनुसार भदौ २३ गते साँझदेखि नै बाहिर भीड जम्मा भई आगजनी र ढुंगामुढा सुरु भएपछि कारागारभित्रका कैदीबन्दीहरू समेत आक्रोशित भई नाराबाजी गर्न थालेका थिए। त्यस क्रममा “बाहिर जान हुने हामी किन नजाने” भन्ने भावना फैलिएको उनले बयानमा उल्लेख गरेका छन्।
जेलर जोशीले काठमाडौंको डिल्लीबजारसहितका अन्य कारागारबाट पनि कैदीहरू भागेको सूचना त्यतिबेला फैलिएको उल्लेख गर्दै त्यसकै प्रभावमा नख्खु कारागारबाट समेत ठूलो संख्यामा कैदीहरू भागेको बताएका छन्। उनका अनुसार कुल ६६७ जना कैदीबन्दी फरार भएका थिए, जसमध्ये ४०९ जना पछि फर्किएको उल्लेख छ।
कारागार प्रशासनले भदौ २७ गते सूचना जारी गर्दै फरार कैदीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको थियो। सूचनामा आत्मसमर्पण नगरे कानुनी कारबाही कडा हुने चेतावनी दिइएको थियो।
प्रतिवेदन सार्वजनिक भएपछि भदौ २४ को घटनामा कारागारबाट बाहिरिएका रवि लामिछानेको विषय पुनः चर्चामा आएको छ। कारागारका अधिकारीहरूका अनुसार उनी सुरक्षाको कारण देखाउँदै बाहिर निस्किए पनि त्यसपछि पछि फर्किएका थिए।