देउवा फर्किएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक, १५औँ महाधिवेशनको मिति घोषणा हुने
काठमाडौं । नेपाली कांग्रेस को चौधौँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक केही दिनमै बस्ने तयारी भएको छ।
हाल हङकङ मा रहेका देउवा नेपाल फर्किएलगत्तै बैठक बोलाइने तयारी गरिएको हो। देउवा समूहले उक्त बैठकबाट १५औँ नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्ने जनाएको छ।
नेता गुरू बराल का अनुसार विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएको गगनकुमार थापा पक्षलाई वैधानिक रूपमा स्वीकार नगर्ने अडान कायम राखिएको छ। उनले निर्वाचनका बेला पार्टीभित्र देखिएको विवादका कारण कांग्रेसले हार व्यहोरेको आरोप लगाए।
बरालले विशेष महाधिवेशन पक्षले बाह्य प्रभावमा परेर निर्णय गरेको दाबी गर्दै त्यसले पार्टीलाई विभाजित बनाएको बताए। उनले अब नियमित महाधिवेशनमार्फत पार्टीलाई एकतावद्ध र सुदृढ बनाउने तयारी रहेको उल्लेख गरे।
देउवाले यसअघि नै नेतृत्व हस्तान्तरणको संकेत दिए पनि निर्वाचनको मुखमा महाधिवेशन गरिनु गलत निर्णय भएको उनको भनाइ छ। उनका अनुसार अब तल्लो तहदेखि नै संगठनात्मक सुधार गर्दै अघि बढ्ने योजना बनाइएको छ।
देउवा चैत १३/१४ गते नेपाल फर्किने कार्यक्रम रहेको र त्यसपछि बैठक बसेर आवश्यक निर्णय लिइने बताइएको छ।
यसैबीच निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाइसकेका छन्। तर उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव हाल केन्द्रीय कार्यसमिति बैठकमा छलफलमै रहेको छ।
बैठकले फागुन २१ को निर्वाचनमा भएको हारको समीक्षा गर्दै २१ क्षेत्रमा अन्तरघातका कारण पराजय व्यहोरेको निष्कर्ष निकालेको छ।
उता, पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरेको छ, जसलाई पार्टीभित्र थप विवादको विषयका रूपमा हेरिएको छ।