महिला हिंसाविरुद्ध न्यायको माग गर्दै राष्ट्रिय महिला आयोगमा प्रदर्शन
काठमाडौं — महिला हिंसापीडितका लागि न्यायको माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्।
प्रदर्शनकारीहरूले “महिला अधिकार सुनिश्चित गर”, “महिला हिंसा अन्त्य गर”, “महिला आयोग किन चुप ?”, “इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ” लगायतका नारा लगाउँदै आयोगको ध्यानाकर्षण गराएका हुन्।
पीडित पक्षले सुर्खेत की इनिशा विक को बलात्कारपछि हत्या घटनाको शीघ्र छानबिन गर्न र खोटाङ की रेश्मिका परियार को घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
यसअघि माइतीघर मण्डला मा धर्ना बस्दा पनि सुनुवाइ नभएको गुनासो गर्दै उनीहरूले महिला आयोगसमक्ष न्यायको पहल गर्न आग्रह गरेका हुन्।
पीडित पक्षको आन्दोलनमा खोटाङ सेवा समाज ले समेत ऐक्यबद्धता जनाएको छ। समाजका सचिव नवराज रोका ले पीडितले छिटो न्याय पाउनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्नेमा जोड दिए।
प्रदर्शनकारीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै महिला हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।