तनहुँ–१ बाट विजयी डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, स्थानीयमा उत्साह
काठमाडौँ । तनहुँ क्षेत्र नं. १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति Swarnim Wagle अर्थमन्त्री बनेका छन् । रास्वपा सभापति Rabi Lamichhane ले निर्वाचनअघि नै उनलाई अर्थमन्त्री बनाइने बताएका थिए ।
आफ्नो क्षेत्रबाट निर्वाचित सांसद देशको महत्वपूर्ण जिम्मेवारीमा पुगेपछि तनहुँ–१ का स्थानीयमा खुसी छाएको छ । डा. वाग्ले यसअघि विसं २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा ३४ हजार ९११ मत ल्याएर पहिलोपटक विजयी भएका थिए भने पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा ३८ हजार ४० मतसहित पुनः निर्वाचित भएका हुन् ।
अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा परिचित वाग्ले अर्थमन्त्री बनेसँगै जिल्लावासीमा थप उत्साह देखिएको छ । स्थानीय मनोज अधिकारीले देशको अर्थतन्त्र सुधार गर्न सक्षम व्यक्तिका रूपमा वाग्लेलाई अर्थमन्त्री पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिए ।
त्यस्तै बन्दीपुरका सिद्धान्त गर्जा मगरले सामाजिक न्यायसहितको अर्थनीति, सुशासन र आर्थिक सुधारलाई व्यवहारमा लागू गर्न वाग्ले सफल हुने विश्वास व्यक्त गरे ।
गोरखामा जन्मिएका वाग्लेले आफ्नो संसदीय यात्रा तनहुँबाट सुरु गरेका हुन् । अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्नुका साथै नेपाल फर्किएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।