रास्कोट नगरपालिका ‘डिजिटल पालिका’ बन्ने, ४९ लाख बजेट विनियोजन
कर्णाली — कर्णाली प्रदेश सरकारले रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ‘नवप्रवर्तन साझेदारी कोष’ कार्यक्रमअन्तर्गत उक्त योजना कार्यान्वयन गर्न ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
नगरप्रमुख धर्मराज शाहीका अनुसार, बजेटसँगै कार्यक्रम सञ्चालनको अख्तियारीसमेत प्राप्त भइसकेको छ। यस पहलमार्फत नगरपालिकाका सूचना, तथ्याङ्क तथा सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिनेछ।
यसअघि प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले रास्कोटसहित कर्णालीका सात स्थानीय तहमा कुल ३ करोड ४० लाख रुपैयाँ बराबरका परियोजना कार्यान्वयन गर्न अनुमति दिने निर्णय भएको जानकारी दिएका थिए।
‘डिजिटल पालिका’ कार्यक्रम लागू भएपछि सेवाग्राहीले विभिन्न प्रशासनिक सेवा अनलाइनमार्फत सहज, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय तहको सेवा प्रवाहमा सुधार ल्याउने र डिजिटल सुशासन प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।