ओली पक्राउपछि एमाले सचिवालय बैठक पुनः, दलको नेता चयनमा छलफल
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज पुनः बसिरहेको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको यो दोस्रो सचिवालय बैठक हो।
यसअघि गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा (बादल) को अध्यक्षतामा बसेको बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।
आज पार्टी कार्यालय च्यासलमा जारी बैठकमा आगामी राजनीतिक कार्यक्रम, आन्दोलनको रणनीति तथा अन्य समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताएका छन्। साथै, संसदीय दलको नेता चयनको विषय पनि बैठकको मुख्य एजेन्डामा रहेको जनाइएको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारीमा छ।