महोत्तरीका इँटा उद्योगमा बेमौसमी वर्षाले ६ करोडभन्दा बढी क्षति
महोत्तरी — लगातार तीन दिनसम्म परेको बेमौसमी वर्षाका कारण महोत्तरी जिल्लाका इँटा उद्योगहरूमा ठूलो आर्थिक क्षति पुगेको छ। इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरी का अनुसार शुक्रबारदेखि आइतबारसम्म परेको वर्षाले जिल्लाभित्र रहेका करिब तीन दर्जन इँटा उद्योगमा ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
उनका अनुसार माघ, फागुन र चैत महिना इँटा उत्पादनका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ, किनकि यस अवधिमा सामान्यतया वर्षा हुँदैन। यही विश्वासमा उद्योगीहरूले १५ देखि २०–२२ लाख रुपैयाँसम्म लगानी गरी ठूलो परिमाणमा काँचो इँटा उत्पादन गरेर सुकाइरहेका थिए। तर, अचानक परेको वर्षाले पकाउन तयार अवस्थामा रहेका इँटा पूर्ण रूपमा बिग्रिएका छन्।
न्यु बाबा इँटा उद्योग का सञ्चालक हरिनारायण यादव ले वर्षभरि बिक्री गर्ने तयारीमा राखिएको इँटा वर्षाले पग्लिएपछि आफू आर्थिक सङ्कटमा परेको बताए।
त्यस्तै, न्यु मिथिला इँटा उद्योग का सञ्चालक रामबाबु चौधरी का अनुसार कडा मेहनत र ठूलो लगानीबाट तयार पारिएको काँचो इँटा आकस्मिक वर्षाले बगाएपछि उद्योगीहरूको सबै मेहनत र पूँजी डुबेको छ।
उद्योगीहरूका अनुसार जिल्लाका इँटा उद्योगहरूमा न्यूनतम ८ लाखदेखि अधिकतम २२ लाख रुपैयाँसम्म व्यक्तिगत रूपमा क्षति पुगेको छ। बेमौसमी वर्षाले उत्पादन चक्र नै प्रभावित भएपछि आगामी दिनमा बजारमा इँटाको अभाव र मूल्य वृद्धि हुन सक्ने चिन्ता समेत व्यक्त गरिएको छ।