संखुवासभा जिल्ला अस्पतालमा पहिलोपटक डायलाइसिस सेवा सुरु
संखुवासभा, १३ चैत । संखुवासभा जिल्ला अस्पतालमा पहिलोपटक मिर्गौला रोगीका लागि डायलाइसिस सेवा सुरु गरिएको छ । अस्पतालले पाँच शैय्याबाट नि:शुल्क रूपमा डायलाइसिस सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
जिल्ला अस्पतालका अध्यक्ष सुमन शाक्यका अनुसार अब मिर्गौला रोगीहरूले जिल्लामै उपचार सेवा पाउने भएका छन् । यसअघि बिरामीहरूलाई डायलाइसिसका लागि विराटनगर, धरान तथा काठमाडौँ धाउनुपर्ने बाध्यता थियो ।
अस्पतालमा पहिलोपटक खाँदबारी नगरपालिका–९ ढुङ्गेधाराकी ४८ वर्षीया सशु कुमारी श्रेष्ठलाई डायलाइसिस सेवा प्रदान गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष देवले जानकारी दिए । उनी यसअघि विराटनगरस्थित नोवेल अस्पतालमा डायलाइसिस गराउँदै आएकी थिइन् ।
डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । सेवाका लागि तीन जना तालिमप्राप्त चिकित्सक, चार जना नर्स र एक जना प्राविधिक खटाइएको छ ।
सेवा सञ्चालनका लागि खाँदबारी नगरपालिकाले पाँच लाख रुपैयाँ र चिचिला गाउँपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।