शान्तिपूर्ण निर्वाचनका लागि एमालेलाई प्रधानमन्त्री कार्कीको धन्यवाद
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूलाई धन्यवाद दिएकी छन्।
प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमाले नेतृत्वलाई आमन्त्रण गरी धन्यवाद ज्ञापन गरेकी थिइन्। भेटघाटमा एमालेका प्रमुख नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी थिए।
उक्त अवसरमा प्रधानमन्त्रीले चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन एमालेले खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले निर्वाचनलाई देशको समस्याबाट निकास दिने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको बताइन्।
“कठिन अवस्थाबाट देशलाई निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो,” प्रधानमन्त्री कार्कीले भनिन्, “राष्ट्रप्रतिको जिम्मेवारी बुझेर यहाँहरूले देखाएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
प्रधानमन्त्रीले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशले कुनै पनि पार्टीको दीर्घकालीन हैसियत निर्धारण नगर्ने बताइन्। उनले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण दिँदै राजनीतिक उतारचढाव सामान्य रहेको धारणा व्यक्त गरिन्।
उनले एमाले नेतृत्वलाई एकपटकको परिणामबाट निराश नहुन आग्रह गर्दै निरन्तर जनताका मुद्दामा केन्द्रित रहन सुझाव दिइन्।
भेटका क्रममा एमाले नेताहरूले पनि सबै पक्षलाई समेटेर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई बधाई दिएका थिए। उनीहरूले प्रशासनको निष्पक्षता, शान्त वातावरण र कम खर्चिलो चुनावी अभ्यासप्रति सरकारको प्रशंसा गरेका थिए।
यसअघि प्रधानमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोकका अवसरमा भक्तपुरस्थित निवासमै पुगेर समवेदना व्यक्त गरेकी थिइन्।