बाँकेको मदुईमा अशोक सामुदायिक वन समूहले स्थानीय विकासमा दिगो योगदान पुर्याइरहेको छ
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले स्थानीय समुदायको समग्र विकासमा सक्रिय भूमिका खेलेको छ। समूहले काठ–दाउरा बिक्रीबाट भएको आम्दानी गाउँको विकासमा लगानी गर्दै आएको छ।
कचनापुर खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ट्याङ्की निर्माणदेखि घरसम्म पाइप बिछ्याउने र मिटर जडान गर्ने कार्यमा समूहले ५० प्रतिशत लागत व्यहोरेको छ। साथै, गाउँको विद्युतीकरणमा २० प्रतिशत लगानी र तीन किलोमिटर सडकमा सडकबत्ती जडान गरी मदुई गाउँ उज्यालो बनाइएको छ।
समूहका अध्यक्ष भगानु थारुका अनुसार, सिँचाइका लागि मोटर र पाइप खरिदमा ५० प्रतिशत अनुदान दिँदै आएको छ, जसले स्थानीय किसानलाई ठूलो राहत प्रदान गरेको छ। शिक्षा क्षेत्रमा स्थानीय लक्ष्मी माध्यमिक विद्यालयलाई ३० सेट बेन्च–डेस्क, स्मार्ट बोर्ड र विद्यालय भवन निर्माणमा आर्थिक सहयोग गरिएको छ। कक्षा १० का विद्यार्थीलाई वार्षिक तीन हजार रुपैयाँ शैक्षिक सहयोग पनि प्रदान गरिन्छ।
स्वास्थ्य क्षेत्रमा समूहको सक्रियता उत्तिकै छ। गाउँका दुई स्वयंसेविकालाई वार्षिक प्रोत्साहन भत्ता, गर्भवती आमालाई पोसिलो खाना र शिशुका लागि न्यानो कपडा वितरण गरिएको छ। बिरामी सदस्यलाई उपचारका लागि २५ हजारसम्म तीन महिनाका लागि बिना ब्याज सापटी दिने सुविधा हालसम्म करिब ५० जनाले उपयोग गरिसकेका छन्।
स्वरोजगार सिर्जनाका लागि समूहले एक लाखसम्म बिना ब्याज सापटी उपलब्ध गराएको छ। दुई वर्षभित्र फिर्ता गर्ने शर्तमा यो रकमबाट हालसम्म २० जना सदस्यले आफ्नै व्यवसाय सुरु गरिसकेका छन्।
वन संरक्षण र व्यवस्थापनले स्थानीय रोजगारीमा समेत योगदान दिएको छ। झाडी सफाइ, काठ कटान र घाटगद्दीको काममा बाहिरका मजदुर नबोलाई स्थानीय उपभोक्तालाई प्राथमिकता दिइन्छ। सहसचिव अरुण गौतमका अनुसार, झाडी सफाइमा मात्र वार्षिक सात लाख खर्च हुने गरेको र एक उपभोक्ताले एउटा सिजनमा ६० हजारसम्म आम्दानी गर्ने गरेको छ।
अशोक सामुदायिक वन उपभोक्ता समूहको यी पहलले स्थानीय स्तरमै दिगो विकास र समुदायमा आत्मनिर्भरता सुनिश्चित गर्ने महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ।