कुलमान घिसिङको घोषणा: “सडकबाटै आम जनताको सरकार चलाउँछौं”
काठमाडौं — कुलमान घिसिङले आफ्नो पार्टी उज्यालो नेपाल पार्टीले “सडकबाटै आम जनताको सरकार चलाउने” बताएका छन्।
बुधबार आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले आफूहरूलाई सडकमा बसेर जनताको पक्षमा सरकार सञ्चालन गर्ने म्याण्डेट दिएको दाबी गरे।
अध्यक्ष घिसिङले अब “सडकको सरकार” उज्यालो नेपालको हुने उल्लेख गर्दै सडकबाटै देशलाई समृद्धितर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने बताए। उनले नयाँ सरकारका सकारात्मक कामको समर्थन र कमजोरीको खबरदारी गर्ने नीति अपनाउने स्पष्ट पारे।
निर्वाचनमा देशभर उम्मेदवारी दिए पनि जित हासिल गर्न नसकेको सन्दर्भमा उनले “हारेर पनि जितेको महसुस” भएको प्रतिक्रिया दिए। साथै, देशमा स्थायित्वका लागि जनताले एक दललाई करिब दुई तिहाइ मत दिनु महत्त्वपूर्ण भएको उनको भनाइ थियो।
उनले आगामी दिनमा गाउँ–टोलसम्म संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने जानकारी पनि दिएका छन्।