ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन, सात जना पक्राउ
काठमाडौंमा केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा सात जना प्रदर्शनकारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बबरमहल क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गर्दा प्रहरीसँग झडपसमेत भएको थियो।
झडपका क्रममा केही प्रदर्शनकारी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ।
आज बिहान नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अध्यक्ष ओली पक्राउको विरोधमा आन्दोलन गर्ने निर्णय गरेपछि माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट क्षेत्रमा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए।