भदौ २३–२४ घटनाको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न प्रदीप पौडेलको माग
काठमाडौं — प्रदीप पौडेलले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि हालसम्म सार्वजनिक नगरिएकोप्रति आपत्ति जनाए। वर्तमान सरकारको म्याण्डेटमै ती घटनाको छानबिन समावेश रहेको उल्लेख गर्दै प्रतिवेदन गोप्य राख्दा विभिन्न आशंका उत्पन्न भएको उनको भनाइ थियो।
महामन्त्री पौडेलले आयोगले घटनाबारे गहिरो छानबिन गरेको विश्वास व्यक्त गर्दै दोषी देखिएकालाई कारबाही गर्नुपर्ने धारणा राखे। साथै प्रतिवेदनबारे अनुमान गर्ने अवस्था सिर्जना नगर्न सरकारलाई आग्रह गरे।
त्यस्तै उनले भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन तथा विद्यमान कानुन संशोधनमा नयाँ बन्ने सरकारलाई आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताए। लिपुलेक र लिम्पियाधुरालगायत सीमा विवादका विषयमा कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्नुपर्नेमा पनि उनले जोड दिए।