पोखरा महानगरको कृषि अनुदान कार्यक्रम सुरु, ३३ वडामा ५५ लाख विनियोजन
पोखरा — पोखरा महानगरपालिका ले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयसँगको समन्वयमा किसान लक्षित अनुदान कार्यक्रम सुरु गरेको छ। महानगरभित्रका सबै ३३ वटै वडालाई समेट्ने गरी ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।
महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया का अनुसार कार्यक्रमका लागि कुल ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत बजार क्षेत्रका ११ वडालाई प्रतिवडा एक लाख रुपैयाँ र ग्रामीण क्षेत्रका २२ वडालाई प्रतिवडा दुई लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ।
महानगरले वडा नम्बर १ देखि १० र १२ नम्बर वडालाई बजार क्षेत्रका रूपमा वर्गीकरण गरेको छ भने बाँकी वडाहरूलाई ग्रामीण क्षेत्र मानिएको छ। कार्यक्रममार्फत स्थानीय किसानलाई उत्पादन वृद्धि, प्रविधि प्रयोग र कृषि व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।