ओखलढुंगाको मतपरिणाममा कांग्रेसको प्रश्न, १८६ मत कम भएको दाबी
ओखलढुंगा। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामप्रति नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाएका छन्।
५ मतको झिनो अन्तरले हार–जित भएको ओखलढुंगामा मुचुल्कामा उल्लेख भएको मतभन्दा १८६ मत कम भेटिएको दाबी गर्दै उनले निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामप्रति असन्तुष्टि जनाएका हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरी प्रमाणपत्रसमेत दिइसकेको छ।
लुइँटेलले भने मतदानपछि मुचुल्कामा ५९ हजार ७७ मत खसेको उल्लेख भए पनि मतगणना सकिँदा सदर र बदर मत जोड्दा ५८ हजार ८९१ मात्र मत देखिएको दाबी गरेका छन्। यस कारण परिणामप्रति शंका उत्पन्न भएको भन्दै उनी कानुनी उपचारको तयारीमा रहेको बताएका छन्।
यता मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले दलका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना गरिएको र कुनै गडबडी नभएको बताएका छन्। उनले मतपरिणाम घोषणा भइसकेको र चित्त नबुझे कानुनी उपचारमा जान सकिने बताएका छन्।