आन्तरिक कारणले चुनाव हारियो : कांग्रेसको प्रारम्भिक निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनमा पराजयको प्रमुख कारण पार्टीभित्रकै आन्तरिक कमजोरी रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसे ले अधिकांश क्षेत्रमा देखिएको मतान्तरले आन्तरिक कारणकै कारण अपेक्षित मत नआएको संकेत गरेको बताए।
उनका अनुसार निर्वाचन प्रचार–प्रसार (क्याम्पेनिङ) मा भएका त्रुटिहरू पनि पराजयका कारणमध्ये एक रहेको भन्दै यसबारे बैठकमा विस्तृत छलफल भइरहेको छ।
चालिसेले केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई पार्टीप्रति जनविश्वासमै प्रश्न उठेको निष्कर्ष समेत बैठकले महसुस गरेको बताए।
उनले क्रियाशील सदस्य संख्या बढ्दो क्रममा रहे पनि मत घट्दै जानु गम्भीर विषय भएको उल्लेख गर्दै यसलाई तथ्यमा आधारित भएर गहिरो विश्लेषण गरिने जानकारी दिए।
निर्वाचन परिणामबारे तयार पारिएका प्रतिवेदन र जिल्लाबाट आएका रिपोर्टहरूलाई एकीकृत गरेर सूक्ष्म अध्ययनपछि अन्तिम निष्कर्ष निकालिने उनले बताए।
प्रवक्ता चालिसेले आगामी दिनमा कांग्रेसले आफूलाई पुनर्जीवित गर्दै संगठन सुदृढीकरणमा जोड दिने पनि उल्लेख गरे।