बाजुरामा अपाङ्ग नागरिकलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र वितरण
बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको छ।
जिल्लाको बूढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घरमै पुगेर नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
भाटले २०१८ मा भारतको मुम्बईमा रेल दुर्घटनामा दुईवटा खुट्टा गुमाएका थिए। दुर्घटनापछि उनी रोजगारी गुमाएर स्वदेश फर्किए र दुर्गम गाउँमा हिँडडुल गर्न नसक्ने भएपछि धनगढीमा कोठा भाडामा बस्दै आएका थिए। नागरिकता हराएपछि उनी राज्यबाट प्राप्त हुने सेवा सुविधा लिनबाट वञ्चित हुँदै आएका थिए।
उनका बुबाले वडाको सिफारिससहित जिल्ला प्रशासनमा गएर समस्या जानकारी गराएपछि प्रजिअ निरौलाले घरमै पुगेर भाटलाई नागरिकताको प्रतिलिपि उपलब्ध गराएका हुन्।
प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार, अशक्त, असहाय, वृद्धवृद्धा तथा अपाङ्गता भएका नागरिकसम्म राज्यका सेवा पहुँचाउन घरदैलो सेवा प्रवाह जारी रहेको छ। यस्तो पहलले राज्यप्रतिको भरोसा बढाउने र सेवाप्रवाहलाई प्रभावकारी, समावेशी बनाउने बताइएको छ।
नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले भने, “दुर्गम बाजुराबाट ३०० किलोमीटर टाढा धनगढीसम्म पुगेर सेवा दिनु स्थानीय प्रशासनको संवेदनशीलता र सक्रियताको अनुपम उदाहरण हो। यसले राज्यको उपस्थितिलाई अझ नजिकबाट महसुस गराएको छ।”