अमेरिकासँग कुनै वार्ता नभएको इरानको दाबी, ट्रम्पको भनाइ खारेज
इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ। इरानको तस्निम समाचार संस्थाका अनुसार हालसम्म अमेरिका र इरानबीच प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै संवाद नभएको जनाइएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पछिल्ला दुई दिनदेखि ‘राम्रो र सिर्जनात्मक’ वार्ता भइरहेको दाबी गरेका थिए। उनले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै यस्तो वार्ता आगामी सातासम्म जारी रहने बताएका थिए। साथै, वार्ता जारी रहेकाले इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ४८ घण्टाभित्र गर्ने भनिएको सैन्य कारबाही पाँच दिनका लागि स्थगित गरिएको घोषणा समेत गरेका थिए।
तर ट्रम्पको उक्त दाबीलाई इरानी पक्षले अस्वीकार गरेको छ। तस्निमले नाम नखुलाइएका एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै ‘इरानको विश्वसनीय सैन्य दबाब’का कारण अमेरिकी पक्ष पछि हट्न बाध्य भएको दाबी गरेको छ। स्रोतका अनुसार वित्तीय बजारमा उत्पन्न जोखिम तथा अमेरिका र पश्चिमा देशहरूको ऋणपत्रमा पर्ने सम्भावित असरले पनि निर्णयमा प्रभाव पारेको जनाइएको छ।
युद्ध सुरु भएदेखि हालसम्म विभिन्न मध्यस्थकर्तामार्फत् इरानसमक्ष सन्देशहरू आइरहे पनि इरानले आफ्नो रक्षा गर्ने अडान कायम राखेको बताइएको छ। साथै, होर्मुज जलक्षेत्रलाई युद्धपूर्व अवस्थामै फर्कन नदिने र ऊर्जा बजार स्थिर हुन नदिने रणनीति पनि यथावत रहेको स्रोतको भनाइ छ।
इरानले स्पष्ट रूपमा हालसम्म कुनै औपचारिक वा अनौपचारिक वार्ता नभएको दोहोर्याउँदै आफ्नो रणनीतिक अडानमा परिवर्तन नभएको जनाएको छ।