म्याग्दीका बहुवर्षीय सडक आयोजना बजेट अभावले प्रभावित, निर्माण व्यवसायीलाई भुक्तानी समस्या
म्याग्दी — गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा सञ्चालन भएका रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरू बजेट अभावका कारण प्रभावित बनेका छन्। पूर्वाधार विकास कार्यालयका अनुसार बजेट सकिएपछि निर्माण व्यवसायीहरूले समयमै भुक्तानी पाउन नसकेको गुनासो बढेको छ।
चालु आर्थिक वर्षमा जिल्लामा सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि करिब ६२ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर बहुवर्षीय आयोजनाका लागि विनियोजित रकम सकिएपछि कतिपय योजनामा काम रोकिएको र कतिपयमा भुक्तानीमा ढिलाइ भएको छ।
बेनी–पाखापानी सडकअन्तर्गत भुतादैला–तोरीपानी खण्डको चार किलोमिटरमा कालोपत्र र ग्राभेल कार्य लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भए पनि बजेट अभावले निर्माण व्यवसायीहरूले भुक्तानी पाउन सकेका छैनन्। सो योजनामा विनियोजित दुई करोड रुपैयाँमध्ये थप २ करोड ५० लाख रुपैयाँ अपुग रहेको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताए।
त्यस्तै, गलेश्वर–पुलाश्रम (पछै)–जगन्नाथ सडकका निर्माण व्यवसायी भीम सापकोटाले पनि समयअघि काम सम्पन्न भए पनि ऋण लिएर मजदुर र आपूर्तिकर्तालाई भुक्तानी गर्नुपरेको गुनासो गरेका छन्। हाडेभिर–बगरफाँट–भकिम्ली र भगवती–सिजलगाउँ–बेग सडक योजनाका निर्माण व्यवसायी नीरज भण्डारीले भने बजेट सकिएपछि काम नै स्थगित गर्नुपरेको जानकारी दिए।
पूर्वाधार विकास कार्यालयका प्रमुख सीनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँका अनुसार क्रमागत योजनाका लागि विनियोजित बजेट पर्याप्त नहुँदा समस्या देखिएको हो। उनका अनुसार केही रकम आन्तरिक रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरिएको छ भने थप बजेट व्यवस्थापनको प्रयास भइरहेको छ।
जिल्लामा बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला–ढोरपाटन, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, दरवाङ–मुना–ढोरपाटन लगायतका बहुवर्षीय सडकहरू सञ्चालनमा छन्। तर अधिकांश योजनामा बजेट अभावले कामको गति सुस्त भएको छ।
यसैबीच, प्रदेशसभा सदस्यद्वय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बजेट अभावका कारण आयोजना समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिएको भन्दै प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। उनीहरूले अपुग बजेट रकमान्तर गरी निर्माण व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन्।