गोरखामा मत विवरण संकलनमा समस्या, धेरै केन्द्रले रिपोर्ट उपलब्ध नगराए
२१ फागुन, गोरखा, नेपाल — जिल्लामा हालसम्म खसेको मतको एकीन विवरण संकलन हुन सकेको छैन।
जिल्ला निर्वाचन कार्यालय, गोरखाका अनुसार अधिकांश मतदान अधिकृतहरूले आफ्नो मतदान केन्द्रबाट विवरण उपलब्ध गराएका छैनन्। सूचना अधिकारी रविलाल सुवेदीले भने, “प्रत्येक तीन घण्टामा महिला र पुरुषको आधारमा खसेको मत गुगल सिटमा भर्नुपर्ने हो, तर अधिकांश केन्द्रबाट अपडेट भएको छैन।”
जिल्लामा कुल ३३१ मतदान केन्द्र र २२५ मतदान स्थल रहेका छन्। करिव १६० मतदान केन्द्रले हालसम्म विवरण उपलब्ध नगराएको सुवेदीले जानकारी दिए।
उनका अनुसार प्राप्त विवरणअनुसार १२ बजेसम्म गोरखा–१, गोरखामा १६ हजार र गोरखा–२, गोरखामा ११ हजार मत खसेको छ। गोरखा–१ मा कुल मतदाता संख्या १ लाख २० हजार ५२५ र गोरखा–२ मा १ लाख ८ हजार ५३३ रहेको छ।
सुवेदीले नेटवर्क समस्या वा मतदान अधिकृतहरूको व्यस्तताका कारण विवरण अपलोडमा ढिलाइ हुन सक्ने अनुमान व्यक्त गरे।