कपिलवस्तुमा धार्मिक तनावपछि निषेधाज्ञा जारी, २३ घाइते
कपिलवस्तु । महाराजगञ्ज नगरपालिका मा शनिबार भएको धार्मिक विवाद उग्र बनेपछि आइतबार पनि निषेधाज्ञा जारी गरिएको छ।
मन्दिर तोडफोड र सामग्रीमा क्षति पुगेको घटनापछि हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्दै जाँदा दिनभर जुलुस तथा प्रदर्शन भएका थिए। सम्भावित थप घटना रोक्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले निषेधाज्ञा जारी राखेको हो।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम का अनुसार आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश नआएसम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन २०२८ अनुसार आदेश लागू गरिएको छ।
निषेधाज्ञा क्षेत्र पूर्वमा लबनी चोक, पश्चिममा बगर्दीघाट पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय बभनीसम्म तोकिएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।
यसअघि शनिबार नेपाल प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २३ जना घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्य का अनुसार घाइतेमध्ये ११ जना नेपाल प्रहरीका, ६ जना सशस्त्र प्रहरी र ६ जना प्रदर्शनकारी रहेका छन्।