नेपालको पानी नीति महिलामैत्री बनाउन विज्ञहरूको सुझाव
काठमाडौं — विश्व पानी दिवस–२०२६ को अवसरमा आयोजित एक कार्यशालामा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत विज्ञहरूले नेपालको पानी नीति, आपूर्ति प्रणाली र उपयोग शैली महिलामैत्री बनाउनुपर्ने सुझाव दिएका छन्।
स्मार्ट वास सोलुसन्स को आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले पानी संकलनको जिम्मेवारी प्रायः महिलामाथि पर्ने भएकाले उनीहरूको शिक्षा, स्वास्थ्य र सामाजिक सहभागितामा असर परेको बताए।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानकी निर्देशक मनोरमा खड्का ले ग्रामीण क्षेत्रमा अझै पनि पानीको सहज पहुँच नहुँदा महिलाहरूको दैनिकी र विकास प्रभावित भएको उल्लेख गरिन्।
त्यसैगरी खानेपानी मन्त्रालयकी सहसचिव मीना श्रेष्ठ ले घरायसी काममा पुरुष–महिला बराबरी सहभागिता नहुँदा महिलाको विकासमा अवरोध देखिएको बताइन्।
कार्यक्रममा सहभागी अन्य विज्ञहरूले ‘एक घर एक धारा’ जस्ता कार्यक्रम प्रभावकारी रूपमा विस्तार भएमा महिलामैत्री पानी व्यवस्थापनमा सहयोग पुग्ने धारणा राखे।