डा. स्वर्णिम वाग्ले अब तनहुँकै स्थायी बासिन्दा
दमौली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्ले अब औपचारिक रूपमा तनहुँकै स्थायी बासिन्दा बनेका छन्।
वाग्लेले बन्दिपुर गाउँपालिका–४ स्थित कित्ता नं. ३४९ (ख) मा रहेको ०–३–३–० क्षेत्रफलको पक्की घर–जग्गा करिब २ करोड रुपैयाँमा खरिद गरेका हुन्। उक्त सम्पत्ति सोमबार जिल्ला मालपोत कार्यालय तनहुँ मा विधिवत् रूपमा नामसारी गरिएको जनाइएको छ।
यससँगै, वाग्लेमाथि लाग्दै आएको “टुरिस्ट नेता” भन्ने आलोचनालाई व्यवहारमै जवाफ दिएका रूपमा स्थानीयले टिप्पणी गर्न थालेका छन्। अब उनी तनहुँमै बसोबास गर्दै स्थानीयसँग अझ नजिक भएर काम गर्ने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो कदमले वाग्लेको स्थानीय सम्बन्धलाई बलियो बनाउने र आगामी दिनमा उनको राजनीतिक प्रभाव अझ विस्तार हुने सम्भावना देखिएको छ।