१७ वर्षपछि सिंहदरबार फर्किँदै संसद् बैठक
काठमाडौं — संविधानसभा गठनपछि १७ वर्षदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक अब पुनः सिंहदरबारमै सञ्चालन हुने भएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै संसद् अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमा बस्ने तयारी गरिएको हो।
सङ्घीय संसद् सचिवालयका अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण कार्यक्रम यही चैत १२ गते दिउँसो २ बजे नयाँ संसद् भवनमा हुने तय भएको छ। मुख्य सभा हल पूर्णरूपमा तयार नभएकाले प्रारम्भिक बैठक र शपथका लागि वैकल्पिक बहुउद्देश्यीय हल प्रयोग गरिने जनाइएको छ।
नेपालमा २०६४ सालको संविधानसभा निर्वाचनपछि ६०१ सदस्यीय सभा गठन हुँदा सिंहदरबारस्थित पुरानो संसद् भवन साँघुरो भएपछि संसद् बैठक नयाँ बानेश्वर सारिएको थियो। त्यसयता संसद्का गतिविधि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट सञ्चालन हुँदै आएका थिए। तर गत वर्षको जेन–जी आन्दोलनका क्रममा उक्त भवनमा आगलागी भई ठूलो क्षति पुगेपछि विकल्पको खोजी गरिएको थियो।
यसअघि नै राष्ट्रियसभा बैठक भने अस्थायी रूपमा सिंहदरबारमै सञ्चालन हुँदै आएको छ। अब प्रतिनिधिसभा पनि सोही परिसरमा फर्किएपछि सम्पूर्ण संसदीय गतिविधि क्रमशः एउटै स्थानमा केन्द्रित हुनेछन्।
नयाँ संसद् भवन २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा शिलान्यास गरिएको थियो। करिब १५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनमा प्रतिनिधिसभा, राष्ट्रियसभा, विभिन्न संसदीय समितिका कक्ष, सचिवालय भवन तथा पुस्तकालयलगायत संरचना रहनेछन्। निर्माणमा करिब ५ अर्ब ५० करोडदेखि ६० करोड रुपैयाँ सिभिलतर्फ र २ अर्ब ३४ करोड रुपैयाँ इन्टेरियरतर्फ लागत अनुमान गरिएको छ।
संविधानअनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार अधिवेशन बोलाउने तयारी भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई शपथ गराउने कार्यक्रम तय भएको छ भने उनले नै अन्य सदस्यलाई शपथ गराउनेछन्।
नयाँ भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि संसद्को दीर्घकालीन पूर्वाधार समस्या समाधान हुने अपेक्षा गरिएको छ।