किरियापुत्री अवस्थामै मतदान: तनहुँका सुब्बा पन्थको उदाहरणीय सहभागिता
तनहुँ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशैभरि मतदान जारी रहँदा तनहुँमा एक भावनात्मक र उदाहरणीय घटना देखिएको छ। व्यास नगरपालिका–१ मोहोरियाटारका ५८ वर्षीय सुब्बा पन्थले आफ्ना बुबाको निधनको पीडाबीच पनि मतदानमा सहभागी भएका छन्।
पन्थले व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। उनका अनुसार आजै उनका ८३ वर्षीय बुबाको निधन भएको थियो। दाहसंस्कार सम्पन्न गरेपछि पनि उनी लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन मतदान केन्द्र पुगेका हुन्।
उनले भने, “देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भन्ने विश्वासले मतदान गर्न आएको हुँ। मेरो मत सदुपयोग हुनेछ भन्ने अपेक्षा छ।”
पन्थका एक भाइ रामकृष्ण वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् भने अन्य दुई भाइ कृष्ण र ऋषिराम जिल्लाबाहिर रहेका उनले जानकारी दिए।
व्यक्तिगत शोकको अवस्थामा समेत लोकतन्त्रप्रतिको जिम्मेवारी निभाउँदै मतदानमा सहभागी भएको पन्थको कदमले स्थानीय स्तरमा नागरिक सचेतना र कर्तव्यबोधको उदाहरण प्रस्तुत गरेको छ।