बागमती प्रदेशमा ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान सुरु हुने
काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय ले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरेको छ।
स्वास्थ्यमन्त्री किरण थापामगर का अनुसार मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वास्थ्य सहर बनाएर घोषणा गर्ने गरी अभियान सञ्चालन गर्दैछ। तयारीका लागि प्रत्येक जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पताल प्रमुख र सरोकारवालासँग छलफल तथा अभिमुखीकरण सम्पन्न भइसकेको छ।
मन्त्री थापामगरले प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण, स्वास्थ्य पूर्वाधार उपलब्ध गराउने, नागरिकको स्वास्थ्य, सरसफाइ र जीवनस्तर सुधार गर्ने तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान अगाडि बढाइने बताए।
प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव सुमित्रा गौतम का अनुसार अभियान स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन र सुधारका अवसर पहिचान गरी स्वास्थ्य सहर निर्माण गर्ने लक्ष्यले सञ्चालन हुँदैछ।
उक्त अभियानले स्वास्थ्य सेवामा गुणस्तर सुधार, पहुँच विस्तार, जनचेतना वृद्धि र प्रविधिको प्रभावकारी प्रयोग गर्दै प्रदेशको समग्र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने योजना राखिएको छ। प्रत्येक नागरिकले आफ्नै जिल्लाका अस्पतालमा सहज उपचार पाउन सक्ने व्यवस्था तथा उपकरण र प्रविधि मैत्री व्यवस्थापनका तयारी पनि थालिएको मन्त्रालयले जानकारी दिएको छ।