वीरगञ्ज नाकाबाट डेढ महिनामा २,१३६ एलपी ग्यास बुलेट आयात, आपूर्ति दबाबबीच राहत
वीरगञ्ज नाका हुँदै पछिल्लो डेढ महिनाको अवधिमा दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन्। भन्सार कार्यालयका अनुसार फागुनदेखि चैत १३ गतेसम्म कुल २ हजार १३६ वटा ग्यास बुलेट आयात भएका हुन्।
एकीकृत भन्सार जाँचचौकी व्यवस्थापन गरिरहेको टिआरएस हिमालयन लजिपार्कका अपरेसन हेड गणेश घिमिरेका अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० वटा बुलेट भित्रिएका थिए भने चैत १३ गतेसम्म थप ५७६ वटा बुलेट आयात भइसकेका छन्। यसअघि माघ महिनामा १ हजार ४०३ वटा बुलेट भित्रिएका थिए।
मध्यपूर्वका देशहरूमा देखिएको पछिल्लो संकटका कारण विश्वका विभिन्न मुलुकहरूमा एलपी ग्यास आपूर्तिमा दबाब बढिरहेका बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ। यद्यपि वीरगञ्ज नाकाबाट भइरहेको आयातले आपूर्ति व्यवस्थापनमा केही राहत पुगेको देखिन्छ।
भन्सार कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगञ्ज नाकाबाट २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने २४ अर्ब ६ करोड रुपैयाँ बराबरको २१ करोड ४२ हजार ७८१ किलो ग्यास आयात भएको थियो।
यस तथ्यांकले अघिल्लो वर्षको तुलनामा चालु वर्षमा एलपी ग्यास आयातमा केही गिरावट आएको देखाएको छ, जसको कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अस्थिरता हुन सक्ने अनुमान गरिएको छ।