पर्वतमा मोटरेबल पुल निर्माण तीव्र, छत्तिसेघाट पुल सञ्चालनमा
पर्वत जिल्लाका मुख्य सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउन विभिन्न खोलामा मोटरेबल पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार तीनवटा पुलमध्ये एक पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने दुईवटा निर्माणाधीन अवस्थामा छन्।
Parbat Districtको पैंयु गाउँपालिका अन्तर्गत सरौ–बालाकोट सडक खण्डको छत्तिसेघाटमा निर्माण गरिएको २५ मिटर लामो मोटरेबल पुल हालैदेखि सञ्चालनमा आएको हो। विसं २०८० कात्तिकदेखि सुरु भएको पुल रु चार करोड ४३ लाख लागतमा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए। पुल निर्माणको जिम्मा कस्तुरी कन्ट्रक्सनले पाएको थियो।
वर्षायाममा सरौखोलामा आउने बाढीका कारण पैंयु गाउँपालिका र महाशिला गाउँपालिकाका विभिन्न बस्तीका बासिन्दा आवतजावतमा कठिनाइ भोग्दै आएका थिए। पुल सञ्चालनमा आएपछि अब उक्त सडक वर्षभरि सहज रूपमा प्रयोग गर्न सकिने भएको छ। स्थानीयवासीले पुल निर्माणसँगै आवतजावत, शिक्षा, स्वास्थ्य र व्यापारमा उल्लेख्य सहजता आउने बताएका छन्।
यसैबीच, कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दीखोलामाथि १६ मिटर लामो मोटरेबल पुल निर्माण कार्य द्रुत गतिमा भइरहेको छ। करिब रु दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त पुल सम्पन्न भएपछि आसपासका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
त्यस्तै, मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकअन्तर्गत परादी–मोदी–गिज्यान–ठाना–तिलाहार सडक खण्डको मोदीखोलामा पनि मोटरेबल पुल निर्माण सुरु गरिएको छ। कुश्मा नगरपालिका–८ परादी र मोदी गाउँपालिका–६ गाडतारा जोड्ने उक्त पुल गत आर्थिक वर्षदेखि निर्माण प्रक्रियामा रहेको जनाइएको छ।
बजेट अभाव र राजनीतिक अस्थिरताका कारण केही आयोजना निर्धारित समयभन्दा ढिला भए पनि अधिकांश पुल निर्माण कार्य अहिले तीव्र बनाइएको कार्यालयले जनाएको छ। पुल निर्माण सम्पन्न भएसँगै जिल्लाको ग्रामीण भेगमा यातायात सेवा वर्षैभरि सुचारु हुने विश्वास लिइएको छ।