एमालेलाई सिध्याउन देशमै आगो लगाइयो : केपी शर्मा ओली
५ फागुन, काठमाडौं । केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई कमजोर पार्न देशभर अराजक गतिविधि गरिएको आरोप लगाएका छन्।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले मंगलबार मतदातासँगको भेटघाटमा बोल्दै एमालेविरुद्ध षड्यन्त्र भएको दाबी गरे। उनले फागुन २१ गते हुने निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्दै नेताकार्यकर्ता र मतदातालाई ढुक्क रहन आग्रह गरे।
“एमालेलाई सिध्याउन देशमै आगो लगाइयो,” उनले भने, “जति विरोध भए पनि एमाले पहिलो पार्टी बन्छ।” बहुमत नआए पनि पहिलो शक्ति बन्नेमा आफू विश्वस्त रहेको उनले बताए।
ओलीले देशमा आगजनी, तोडफोड र लुटपाट गर्ने कार्य निन्दनीय भएको उल्लेख गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई ‘देशका दुस्मन र आतंककारी’को संज्ञा दिए। “नेपाली जाति गरिखाने जाति हो, लुटेर खाने होइन,” उनले भने, “आगो लगाएर, तोडफोड गरेर क्रान्ति हुँदैन।”
उनले राज्यका महत्वपूर्ण संरचना जलाउने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्यले देश निर्माणमा सहयोग नगर्ने तर्क गरे।