राष्ट्रपति पौडेलद्वारा फागुन २१ को निर्वाचन सफल बनाउन सबैलाई आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्।
ग्याल्पो ल्होछारको अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
उनले नेपालको मौलिक चाडपर्वहरूले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको धारणा राखे।
राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि हासिल भएमा मात्र मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ बलियो बन्ने बताए। साथै, हिमाल, पहाड र तराईको अनुपम भौगोलिक तथा सांस्कृतिक विविधता रहेको नेपालका विभिन्न जातजातिमध्ये शेर्पा समुदायले आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचानमार्फत नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट विश्वभर फैलिएको शेर्पा समुदायले आफ्नो मात्र नभई नेपाल र नेपालीको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको भन्दै उनले खुशी व्यक्त गरे।
ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाइनेछ।