देशभर मनसुनी प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शनिबार पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक, संखुवासभा र प्यूठानलगायतका क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा सतर्क रहन तथा नदी, खोला र पहिरोको जोखिम भएका स्थानमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।