विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा तथा अन्य सामग्रीसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ द्वारा काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय पाकिस्तानी नागरिक शाहिद महमूद पक्राउ परेका हुन्।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा राहदानी नम्बर बीई०१५३५५५ वाहक महमूदले बोकेको लगेजबाट अवैध सुर्तीजन्य पदार्थ तथा अन्य सामग्री फेला परेको हो। प्रहरीका अनुसार उनको लगेजबाट १ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १२०० प्याकेट रजनीगन्धा, २२ हजार ७ सय २५ रुपैयाँ मूल्यको ७० प्याकेट पान पराग, २८ हजार ३ सय ५० रुपैयाँ मूल्यको ८१ वटा कट्था नामक डब्बा र ३० हजार रुपैयाँ मूल्य बराबरको २५ केजी तौल भएको अन्य सामग्री फेला परेको छ।
लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको कुल २ लाख १ हजार १०० रुपैयाँ बराबरको उक्त सुर्तीजन्य पदार्थ तथा अन्य सामग्रीसहित महमूदलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राज कुमार सिलवालका अनुसार पक्राउ परेका पाकिस्तानी नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।