किएभमा रूसको भीषण आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
युक्रेनको राजधानी किएभमा रूसले गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार मृत्यु हुनेको सङ्ख्या पुष्टि भइसकेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सहरको सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोले घाइतेहरूको उपचार जारी रहेको बताएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणपछि प्रतिक्रिया दिँदै ‘निश्चित रूपमा बदला लिने’ चेतावनी दिएका छन्। साथै उनले युक्रेनलाई थप हवाई सुरक्षा प्रणाली उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारहरूसँग पुनः आग्रह गरेका छन्।
किएभका मेयर भिटाली क्लिट्स्कोले यस आक्रमणलाई राजधानीमाथिको रूसको सबैभन्दा ठूलो आक्रमण भनेका छन्।
युक्रेनस्थित रेड क्रसका अनुसार आक्रमणमा उसको मुख्य गोदाम नष्ट भएको छ र करिब २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता सामग्री क्षति पुगेको छ।
युरोपेली सङ्घका कूटनीतिज्ञहरूको भवनमा पनि आक्रमणको असर परेको भए पनि सबै कूटनीतिज्ञ सुरक्षित रहेको जनाइएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नागरिकमाथिको आक्रमणको कडा निन्दा गर्दै तत्काल युद्धविरामको आह्वान गरेका छन्।
युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काजा कल्लासले रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी भइरहेको जानकारी दिएकी छन्।
यसैबीच, युक्रेनले अमेरिकामा निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका मिसाइल स्वदेशमै उत्पादन गर्न अनुमति मागिरहेको छ।
राष्ट्रपति जेलेन्स्कीले हालै रूसले ठूलो आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना आएको बताएका थिए, जसको केही समयपछि नै किएभमा यो आक्रमण भएको हो।