एकै रात ठूलो सफलता: धरान र पर्सामा १ हजार किलोभन्दा बढी गाँजा सहित तीन जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट प्रहरीले करिब ९ सय ५५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जिल्लाको कोल्हवी नगरपालिका–८ निवासी संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका–८ निवासी ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन्।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडी जाँच गर्दा ३३ वटा पोकामा रहेको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक संदिप कुमार माझीलाई पक्राउ गरेको हो।
यसैगरी बिएसि ३२३६ नम्बरको गाडी जाँच गर्दा २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा बरामद गरी चालक नगेन्द्र राज श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, पर्साको पकाहा मैनपुर गाउँपालिका–२ कट्टी बालुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ६० किलोग्राम सहित काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलानलाई सोमबार राति पक्राउ गरिएको छ।
अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टीबाट खटिएको प्रहरी टोलीले प्रदेश ३–०१–००२ च ५४३२ नम्बरको कार जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।