हेटौँडामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
५ फागुन, काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो बाप्र ०३–००१ ख ११७९ नम्बरको टिप्परले लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय जगदीश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
रूपन्देही निवासी थारु दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। दाङको राप्ती गाउँपालिका–६ निवासी उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
टिप्पर चालक हेटौँडा–१५ का २६ वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।