सिंहदरबार वैद्यखाना फेरि लयमा, औषधि उत्पादनमा उल्लेख्य वृद्धि
सिंहदरबार वैद्यखाना पुनः लयमा फर्कन थालेको छ। विसं २०७७ देखि औषधि उत्पादनमा आएको कमीपछि पछिल्लो समय कच्चापदार्थ आपूर्ति र आन्तरिक व्यवस्थापन सुधार गर्दै वैद्यखानाले उत्पादन वृद्धि गरेको हो।
वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीका अनुसार, पछिल्लो तीन वर्षदेखि कच्चापदार्थ आपूर्तिका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेको थियो। हाल भने उत्पादन बढाएर कारोबार विस्तारमा ध्यान दिइएको छ। उनका अनुसार हाल सरकारी औषधालयहरूबाट मात्रै करिब दुई करोड रुपैयाँ बराबरको औषधि माग आएको छ।
कुनै समय आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुँदा घाटामा रहेको वैद्यखाना साउनयता नाफामा गएको निर्देशक केसीले जानकारी दिए। समयमै कच्चापदार्थ उपलब्ध नहुँदा औषधि उत्पादन ठप्पजस्तै बनेको अवस्थामा पछिल्लो समय समस्या समाधान गरी उत्पादन बढाइएको उनले बताए।
विसं २०७७ मा १२ प्रकारका मात्र औषधि उत्पादन हुने गरेको वैद्यखानामा हाल ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन्, जसमध्ये ३० प्रकारका औषधि सरकारी औषधालयमा आपूर्ति गरिँदै आएको छ।
कच्चापदार्थ आपूर्तिका लागि २०८० पुसमा गरिएको ठेक्का सम्झौताअनुसार ठेकेदारले सामग्री नल्याएपछि कालोसूचीमा राखिएको र विसं २०८१ वैशाखमा नयाँ ठेक्का सम्झौता गरेर साउनयता पुनः नियमित उत्पादन सुरु गरिएको निर्देशक केसीले जानकारी दिए।
लामो समय घाटामा गएपछि सात महिनासम्म कर्मचारीले तलबसमेत नपाएको अवस्था रहेकामा हाल उत्पादन वृद्धि र नाफा भएपछि नियमित तलब वितरण भइरहेको छ।
वैद्यखानाको औषधिप्रति उपभोक्ताको आकर्षण बढेसँगै हाल करिब चार करोड रुपैयाँ बराबरको माग रहेको बताइएको छ। तर, मागअनुसार उत्पादन गर्न नसक्दा हाल सरकारी औषधालयबाहेक अन्यत्र औषधि आपूर्ति गर्न नसकिएको निर्देशक केसीले स्पष्ट पारे।
यस वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पुर्याउने लक्ष्यसहित काम भइरहेको पनि उनले बताए।
शिलाजित, च्यवनप्रास, निमिया (जोर्नी दुख्ने औषधि), चन्द्र प्रभावटी, महायोगराज, काञ्चनार, त्रिफलालगायत औषधिको माग उच्च रहेको वैद्यखानाले जनाएको छ। साथै, १५ वर्षदेखि बन्द रहेको स्वर्णभस्म विन्दु औषधिको उत्पादन पनि पुनः सुरु गरिएको छ।