निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं, १३ फागुन — राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘लोकतन्त्रको स्थायीत्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले सम्भावित अवाञ्छित गतिविधि नगर्न वा नगराउन तथा नागरिकको मानव अधिकारको पूर्ण सम्मान गर्न आग्रह गरे। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सामाजिक सञ्जाल सञ्चालक तथा मतदातासमेत जिम्मेवार हुनुपर्ने बताए।
उनका अनुसार सबै पक्षले धैर्यता र संयमता अपनाउँदै अरुप्रति लक्षित अमर्यादित, घृणायुक्त तथा सामाजिक–साँस्कृतिक सद्भाव विथोलिने अभिव्यक्ति दिनुहुँदैन। यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा समेत गम्भीरता अपनाउन उनले जोड दिए।
अध्यक्ष मगरले निर्वाचन खर्च पारदर्शी हुनुपर्ने उल्लेख गर्दै निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रावधान व्यवहारिक रहेको बताए। उनले सो खातामार्फत हुने आर्थिक कारोबार पारदर्शी र उत्तरदायी हुनुपर्नेमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
त्यस्तै, निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न सामाजिक सञ्जाल सञ्चालकलाई कानूनी दायरामा ल्याउनुपर्नेमा समेत उनले जोड दिए।
आयोगले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिँदै सबै सरोकारवालालाई जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्न आह्वान गरेको छ।