बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमानले संसद्को शपथ ग्रहण गरे
बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र नव निर्वाचित सांसदहरूले मंगलबार संसदमा शपथ लिएका छन्। उनीहरू सन् २०२४ को घातक विद्रोहपछि पहिलो पटक निर्वाचित प्रतिनिधि भएका हुन्।
शेख हसिनाको निरंकुश सरकार अपदस्थ भएदेखि १८ महिनासम्म देश संचालन गरेको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्न लागेको जनाइएको छ।
नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त ए. एम. एम. नासिर उद्दीनले शपथ खुवाएका छन्। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का सांसदहरूले रहमानलाई औपचारिक रूपमा आफ्नो दलको नेताको रूपमा निर्वाचित गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति **मोहम्मद साहाबुद्दिन**ले मंगलबार दिउँसो प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाउने अपेक्षा गरिएको छ।
देशका सबैभन्दा शक्तिशाली राजनीतिज्ञ तथा बिएनपीका प्रमुख ६० वर्षीय रहमानको समूहले फेब्रुअरी १२ को निर्वाचनमा जित हासिल गरेको थियो।
रहमानले लामो समयको राजनीतिक उथल–पुथल पछि स्थिरता पुनर्स्थापना र विकास पुनर्जीवित गर्ने प्रतिबद्धता व्यक्त गर्दै, ध्रुविकृत देशमा सबै दलहरूलाई एकजुट रहन आह्वान गरेका छन्।