पश्चिमी वायुको प्रभावले पहाड र हिमालमा बदली, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली र अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा समेत हल्का वर्षा हुन सक्नेछ ।
यस्तै, आज राति पनि पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३८ मिनेटमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।